काठमाडौं, जेठ १९ :

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको तीन प्रमुख दलको बैठक गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबारे सहमति जुट्न नसकेर निष्कर्षविहीन भएको छ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीको राजीनामा अपरिहार्य भएको अडान दोहोर्याएको माओवादी सांसद हितराज पाण्डेले जानकारी दिए। उनका अनुसार, सुशासनको सवालमा माओवादी दृढ रहेको छ।

सत्तारुढ दलले भने राजीनामा आवश्यक नभएको, भिजिट भिसा प्रकरणमा कर्मचारी तहको जिम्मेवारी रहेको तर्क राखेका थिए। प्रधानमन्त्री ओलीले संसद् खुलाउन आग्रह गर्दै बजेट छलफल अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

बैठकमा सहभागी प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले संविधान र व्यवस्थाप्रति चुनौती दिने गतिविधिको सामना गर्दै अघि बढ्न तीनै दल एकमत रहेको जानकारी दिए। तर, प्रतिपक्षले संसद् अवरोध हटाउने विषयमा थप छलफल आवश्यक भएको प्रतिक्रिया दिएको छ।

संसद्‌मा मङ्गलबारदेखि बजेटमाथिको छलफल सुरु हुने कार्यसूची रहेको छ। यद्यपि, गृहमन्त्रीको राजीनामा मागबारे सहमति नजुट्दा संसद् सञ्चालनमा अन्योल कायम छ।