
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् ।
पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेका ठाउँहरुमा अहिले धमाधम काम भइरहेको जनाए ।
समितिमा वर्षातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीबारे छलफलका लागि बोलाइएको बैठकमा सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको दाबी गरे ।
‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ । समयमा नदी सफा गर्नुपर्छ । उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काम सुरु गरिसकेको छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने आश्वासन पनि दिए ।
बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा गेग्रान हटाउने काम भइरहेको छ ।
समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरी आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताए । उनले विपद् हेर्ने गरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी पनि दिए ।
सचिव सिग्देलले अघिल्लो वर्षको बाढीले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको पनि जानकारी दिए ।