काठमाडौं, जेठ २० :

प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगन भएको जानकारी दिएको हो।

यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख दलहरूबीच सहमति नजुटेपछि पहिलोपटक दिउँसो २ र दोस्रोपटक ४ बजेसम्मका लागि सारिएको थियो। तर राजनीतिक सहमति कायम नहुँदा अन्ततः भोलिसम्मका लागि स्थगन गरिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन्। सोही मागसँगै सदन अवरुद्ध भएको छ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा (एकीकृत समाजवादी) ले घटनाको गम्भीरतालाई लिएर उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन्। तर सत्तारुढ दलहरूले उक्त मागमा सहमति जनाएका छैनन्।

सत्तापक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि अहिलेसम्म कुनै टुंगो लागेको छैन। राजनीतिक गतिरोध कायमै रहेकाले बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ।