काठमाडौं, जेठ २० :

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । विष्णु जोशीलाई निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

‘प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गर्नुभएको भन्ने कुरा सुन्नमा आएको छ । बढीमा ६ महिनाका लागि निलम्बनमा भन्ने सुनेको छु, औपचारिक जानकारी आइसकेको छैन,’ महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले सक्रिय न्युजसँग भने, ‘पाण्डेको निलम्बनसँगै निमित्त नगर प्रहरीको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ ।’

गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उनीमाथि उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक-पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेकोलगायतको आरोप लगाइएको थियो ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए । कार्यालय प्रवेशमा गुरागाईंलाई नगर प्रहरी बलले बाधा गरेको थियो । यही विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

नगर प्रमुख पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाए पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले व्यक्तिगत इगोका कारण निलम्बन गरिएको बुझिएको छ ।