काठमाडौं, जेठ २० :

अनलाइन डेटिङ साइटमार्फत विभिन्न देशका व्यक्तिलाई जुवा खेलाउने गिरोहका १७ जना सदस्य पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर ५ जना भारतीय र १२ जना नेपाली नागरिकलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गर्दै अनलाइन सट्टाबाजी गराउने गरेका थिए। उनीहरूको साथबाट बरामद गरिएको ल्यापटप र मोबाइलको प्रारम्भिक अनुसन्धानबाट करिब ८१ करोड ४७ लाख रुपैयाँबराबरको जुवा कारोबार भएको खुल्न आएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।