सर्लाही, जेठ २० :

 पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकमा मङ्गलबार दिउँसो टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुरा बडीमालिका नगरपालिका–६ का ३० वर्षीय प्रहरी जवान मीनबहादुर दानी छन्। उनी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकका पिएसओका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मोटरसाइकलमा सवार दानीलाई बयलवासबाट फूलजोरतर्फ जाँदै गर्दा रानिगन्जबाट आउँदै गरेको ना. १ क ८५२० नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई मोडेल अस्पताल, लालबन्दी हुँदै थप उपचारका लागि बारा स्थित एल.एस. न्युरो अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि माटो ओसार्न प्रयोग गरिएका टिपर लापरवाही ढंगले चलाइँदा दुर्घटना बढेको स्थानीयको गुनासो छ। केही दिनअघि मात्रै सर्लाहीको मिलनचोकमा पनि यस्तै दुर्घटनामा एकजनाको मृत्यु भएको थियो।