
पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामो समयपछि सुनुवाइ अघि बढेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासमा आज सुनुवाइ हुँदैछ।
सापकोटाविरुद्ध अर्जुन लामाको हत्यामा अनुसन्धान हुनुपर्ने मागसहित श्रीमती पूर्णिमाया लामाले दिएको रिट सर्वोच्चमा १४ वर्षभन्दा बढी समयदेखि विचाराधीन छ।
२०६२ साल वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी समूहले उठाएर बेपत्ता पारेको आरोप छ।
पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र चोलेन्द्रशमशेर राणाका पालामा पनि यो मुद्दा निर्णयको चरणमा पुगेको थियो। तर अन्तिममा अन्य आदेश दिँदै सुनुवाइ लम्ब्याइएको थियो।
विभिन्न कारणले पटक–पटक मिति तोकिए पनि सुनुवाइ अघि नबढेको यो मुद्दा अहिले पुनः संवैधानिक इजलासमा सुनुवाइको चरणमा पुगेको छ।