
सदन नियमित गराउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा भएको छलफल टुंगोमा पुग्न सकेन ।
सभामुखकै कार्यकक्षमा भएको छलफलमा सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू ‘कुरो मिलेन’ भन्दै कार्यकक्षबाट बाहिरिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको दाबीसहित विपक्षी दलले उनको राजीनामा माग गरेका छन् ।
साथै विपक्षी दलले राजीनामासँगै उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभई सदन नियमित गर्न नसकिने भन्दै छलफलबाट बाहिरिएका हुन् ।
विपक्षी दलहरुले लगातार सदनमा अवरोध गरेपछि घिमिरेले बुधबार सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए ।
सत्तापक्षले सदनमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने र राजीनामा नदिने अडान राखेको छ भने विपक्षी दलहरुले राजीनामा दिने र भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका छन् ।