ललितपुर, जेठ २१ :

ललितपुरको ठेचोमा बाटो मर्मतको क्रममा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रमेश खड्गी रहेको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसएसपी अधिकारीका अनुसार बाटो खन्न प्रयोग गरिएको डोजरले पोल सार्ने क्रममा पोल खस्दा खड्गी गम्भीर घाइते भएका थिए। ‘प्र.३–०१–००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने क्रममा खस्दा उनी पोलको चपेटामा परेका थिए,’ उनले भने, ‘अस्पताल लगिएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरे।’

खड्गी बाटो मर्मतको काम नजिकै उभिएर हेरिरहेका बेला दुर्घटना भएको बताइएको छ। घटनापछि आक्रोशित स्थानीयले ठेचो क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

यसैबीच, सातदोबाटोस्थित प्रहरी वृत्तमा मृतकका आफन्त, ठेकेदार, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूबीच छलफल जारी रहेको प्रहरीले जनाएको छ।