काठमाडौं, जेठ २१ :

राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिको बुधबार काठमाडौं धुम्बाराहीमा बसेको बैठक होहल्लाबीच स्थगित गरिएको छ।

आन्दोलनको समीक्षा र दोस्रो चरणको कार्यक्रम घोषणा गर्न बोलाइएको बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिले तनावपूर्ण बनेको हो। संसद् बैठकमा सहभागी हुनुपर्ने भन्दै लिङ्देन नआएको जानकारी दिइए पनि अधिकांश नेताहरू असन्तुष्ट देखिए।

‘उहाँ हाम्रो अध्यक्ष हो, उहाँकै नेतृत्वमा आन्दोलन अघि बढ्नुपर्छ,’ भन्दै सहभागीहरूले नाराबाजी गरेपछि बैठक अव्यवस्थित बन्यो। कमल थापा बोल्ने क्रममा समेत होहल्ला भएपछि संयोजक नवराज सुवेदीले बैठक स्थगित भएको घोषणा गरे।

पत्रकारलाई बैठकमा प्रवेश गराइएको विषयमा पनि केही सहभागी चर्किएका थिए। बैठकपछि केही युवाहरूले 'बुढाहरूबाट केही हुँदैन' भन्दै छुट्टै छलफल थालेका छन्।

यी घटनाक्रमले राजसंस्था र हिन्दु राष्ट्रको साझा एजेन्डा लिएर अगाडि बढ्ने बताउने राजावादी शक्तिहरूभित्र गहिरो बेमेल रहेको संकेत देखिएको छ। नेताहरूबीच समन्वयको अभाव र नेतृत्वको विवादले आन्दोलनकै दिशा अन्योलमा परेको हो।

जेठ १५ देखि सुरु गरिएको एक साताको आन्दोलनपछि दोस्रो चरणको कार्यक्रम तय गर्ने उद्देश्यले बैठक बोलाइएको थियो। तर, नेताबीच विश्वासको संकट र तालमेलको कमीले आन्दोलनको भावी मार्गचित्र नै अन्योलमा परेको देखिएको छ।