काठमाडौं, जेठ २१ :

राजतन्त्र पुनःस्थापना, हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजीको माग गर्दै आएको राजावादी आन्दोलन अब स्थानीय तहतर्फ केन्द्रित हुने भएको छ। 

संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको बैठकले आन्दोलनलाई काठमाडौं उपत्यकाका पालिका र देशका प्रमुख शहरहरूमा विस्तार गर्ने निर्णय गरेको हो । 

स्थानीय प्रशासनले राजावादीको आन्दोलनलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाको धेरै जसो स्थानलाई निषेधित क्षेत्र घोषण गरेपछि राजावादीलाई प्रदर्शन गर्न अप्ठयारो भएको थियो ।

सिमित ठाउँमा प्रदर्शन गर्नुको औचित्य नभएको राजावादी नेताहरुको भनाइ छ । व्यवस्था परिवर्तनको आन्दोलनमा लागेका राजावादी नेताहरु अन्तरकलहमा फस्दा कार्यकर्ताहरुमा नैरास्यता छाएको छ । आन्दोलनमा जनसहभागिता बढ्दै जाँदा एक्कासी विकेन्द्रित गरिएकोमा राप्रपाका केही नेताहरुलाई मन परेको छैन । 

यसर्थ आजको समिक्षा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित थिएनन् । ठुला पार्टीका नेताहरुलाई समेत सोच्न बाध्य पारेको राजावादीको आन्दोलन क्षिणभरमै सेलाएको छ । 

राजावादी नेतामा विश्वासको संकट : दोस्रो चरणको आन्दोलन अन्योलमा
 

समितिका संयोजक नवराज सुवेदीका अनुसार हालै सम्पन्न राजधानी केन्द्रित आन्दोलनको समीक्षा गर्दै आन्दोलनलाई थप प्रभावकारी बनाउन स्थानीय तहदेखि नै समिति गठन र युवाको सशक्त संगठन निर्माण गर्ने योजना अघि सारिएको छ ।

आगामी दिनमा देशभर प्रदर्शन, धर्ना र जनसभा गरिने र त्यसपछिका चरणहरू पुनः राजधानी केन्द्रित हुने सुवेदीले जानकारी दिए । सुवेदीले एकलौटी रुपमा घोषणा गरेको यस कार्यक्रमप्रति नेताहरु लिङ्देन, कमल थापालगायतलाई मन परेको छ कि छैन त्यो भोलि नै थाहा हुनेछ ।