काठमाडौँ, भदौ २१ :

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । 

तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८ औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । 
 
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराध भएको उहाँको भनाई छ। 

समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ । 

नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखन तथा जोखिममा पर्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

उहाँले मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गर्नुभयो ।