
नेकपा (माओवादी केन्द्र) ले पार्टी उपाध्यक्ष अग्नि सापकोटासम्बन्धी सर्वोच्च अदालतको आदेशबारे धारणा बनाउन पूर्णपाठ कुर्ने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले सर्वोच्चको लिखित आदेश आएपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पार्टी स्रोतका अनुसार सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ हेरेर मात्र पार्टीले ठोस निर्णय लिनेछ । ‘पार्टीको आधिकारिक धारणा बनाउन पूर्णपाठ हेर्नुपर्ने निष्कर्षमा बैठक पुगेको छ,’ एक नेताले जानकारी दिए ।
सर्वोच्च अदालतले बुधबार माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख सापकोटाविरुद्ध द्वन्द्वकालीन मानवअधिकार उल्लंघनसम्बन्धी उजुरीमा छानबिन अगाडि बढाउन आदेश दिएको थियो ।
सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपसम्बन्धी मुद्दा दर्ता भएको थियो । सो मुद्दामा लामो समयदेखि सुनुवाइ रोकिएकोमा सर्वोच्चको आदेशपछि फेरि अनुसन्धान अघि बढ्ने भएको छ ।