काठमाडौं, जेठ २२ :

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्।

आज संसद्‌ भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले पतञ्जलि जग्गा प्रकरणमा नेपालमाथि दर्ता गरिएको मुद्दा नीतिगत निर्णयलाई अपराध ठहर गर्दै गरिएको भन्दै आपत्ति जनाए।

‘हिजोको सरकारले नीतिगत निर्णय गर्न पाउने अधिकार थियो,’ पाण्डेले भने, ‘यदि यस्ता नीतिगत निर्णयलाई भ्रष्टाचार भन्दै मुद्दा चलाइने हो भने धेरैजसो सांसदहरू संसद्‌बाट बाहिरिनुपर्ने हुन्छ।’ अहिले सरकारले नीतिगत निर्णय गर्न पाउने कि नपाउने सम्बन्धी त्यही विधेयक राजव्यवस्था समितिमा छलफलमा रहेको समेत बताए ।

उनले गिरीबन्धु टी-स्टेटजस्ता अन्य नीतिगत निर्णय पनि उदाहरणका रूपमा प्रस्तुत गरे । त्यसमा के हुन्छ ? भन्ने उनको आशय थियो । वर्तमान प्रधानमन्त्री केपी ओली गिरीबन्धु टी- स्टेटमा मुछिएको आरोप लाग्दै आएको छ ।