सप्तरी, जेठ २२ :

कोसी ब्यारेजमा विपद् पूर्वतयारी अभ्यासका क्रममा सशस्त्र प्रहरीले तालीम गरिरहेका दुई गोताखोर बेपत्ता भएका छन्। आज दिउँसो अभ्यासका क्रममा उनीहरू बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन् । उनीहरू विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए ।

 मनसुनको समयमा सम्भावित विपद्‌को तयारीस्वरूप शुक्रबारका लागि पूर्वाभ्यास कार्यक्रम तय गरिएको थियो। सोही तयारीमा बिहीबार अभ्यास हुँदै गर्दा उक्त घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताए । उनले भने, ‘बेपत्ताको खोजीमा तीव्रता दिएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।’