काठमाडौं, जेठ २२ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटका क्रममा शुभकामना आदान-प्रदानपश्चात् द्विपक्षीय सम्बन्धका विविध आयाम तथा नेपाल-रूस सम्बन्धको सुदृढीकरणका लागि आगामी सम्भावित सहकार्य सम्बन्धमा छलफल भएको थियो ।

यादवले सन् १९५६ मा नेपाल र रुसी महासंघबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर मित्रवत् सम्बन्ध रहिआएको बताए । ‘हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ । नेपालले रूससँगको साझेदारीलाई विशेष महत्त्व दिएको छ,’ उनले भने । उनले नेपालमा पूर्वाधार तथा मानव संसाधन विकासमा रूसले लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको स्मरण गर्दै आगामी दिनहरूमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले नेपाल-रूस सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ आयाम थपिँदै द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल-रूस साझेदारी वाणिज्य, प्रविधि, शिक्षा तथा सांस्कृतिक सहकार्यको क्षेत्रमा विस्तार गर्न सकिने बताउँदै नेपाल सरकार त्यसका लागि सक्रिय रूपमा पहल गरिरहेको बताए ।

उपराष्ट्रपति यादवले आगामी रूस दिवस अवसरमा महामहिम राजदूतमार्फत रूसी जनताको सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरे ।

नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले नेपाल-रूस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।