बाँके, जेठ २२ :

बाँकेको खजुरा गाउँपालिकाले पालिकाअन्तर्गतका सबै १६ वटा माध्यामिक विद्यालय (मावि) हरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमअन्तर्गत जलवायु न्याय पाठ्यक्रमलाई ग्रहण गर्दै गाउँपालिकाले आफैं निरन्तरता दिने जनाएको हो । गाउँपालिकाका सबै माविमा कार्यक्रम लागु हुनुपूर्व विद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले तीनदिने तालिमको आयोजना गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । उनका अनुसार जेठ १९ गतेदेखि सञ्चालन भएको तालिम २१ गते कार्यक्रमलाई निरन्तरता दिने साझा सहमतिसहित समापन गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जलवायु न्याय पाठ्यक्रमको प्रभावकारिता अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले निरन्तरता दिने गरी योजना बनाएको बताए । उनले पालिकाका सबै विद्यालयमा कार्यक्रम लैजाने बताउँदै जलवायु न्याय पाठ्यक्रम प्राविधिक विषय भएकाले रुम टु रिड र बास नेपालको सहयोग आवश्यक पर्ने जनाए ।

कार्यक्रममा खजुरा गाउँपालिकामा रहेको नेरामाविका प्रधानाध्यापक माधव शर्माले तीन दिन चलेको तालिमबाट जीवनपयोगी सीप र जलवायु न्याय पाठ्यक्रमबारे प्रस्टता आएको जनाए । उनले तालिमबाट सिकेको कुरा र पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

यसैगरी समापन सत्रमा कार्यक्रमका सहभागी भानु माविकी सम्पर्क शिक्षक गीता अर्यालले बालिका शिक्षा कार्यक्रम सञ्चालनको क्रममा सबैभन्दा कमजोर मानिएको भानु माविमा हाल सबैभन्दा राम्रो प्रगति देखिएको जनाइन् । उनले विद्यार्थीहरुको आनिबानीमा कार्यक्रमले ल्याएको प्रभाव अत्यन्तै सकारात्मक रहेको बताइन् । पालिकाले कार्यक्रमको निरन्तरता दिनु अत्यन्तै खुसी भएको भन्दै उनले कार्यक्रमको प्रभावकारिताका लागि रुम टु रिड र बास नेपालले निरन्तर सहयोगको अपेक्षासमेत गरिन् ।

यस्तै रुम टु रिड बालिका शिक्षा र लैंगिक समानता कार्यक्रमका सिनियर कार्यक्रम अधिकृत जय प्रजापतिले खजुरा गाउँपालिकाले बालिका शिक्षा कार्यक्रमलाई अपनत्व लिएर निरन्तरता दिएकामा खुसी जनाए । खजुरा गाउँपालिकाले लिएको अपनत्व र विद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरुको सक्रियताले जीवनपयोगी सीप र जलवायु न्याय पाठ्यक्रम कार्यक्रम नमुना कार्यक्रमको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

जलवायु न्याय पाठ्यक्रम लागु गर्नुपूर्व तयारीका रुपमा सञ्चालन गरिएको तालिम जीवनपयोगी सीपका १० तत्त्वबारे प्रशिक्षित गर्ने, जलवायु न्याय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जलवायु परिवर्तनसम्बन्धी ज्ञान हासिल गर्ने, निर्देशिकाको सत्रहरुमा रहेको विशेष क्रियाकलापको अवधारणामा स्पष्ट हुने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिकता र जलवायु न्यायसम्बन्धी ज्ञान हासिल गर्ने उद्देश्यले गरिएको थियो ।