
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउन चाहने नयाँ विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
बुधबार जारी गरिएको आदेशमा हार्वर्डमा अध्ययन वा विनिमय कार्यक्रमका लागि मात्र अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश तत्काल प्रभावबाट रोक लगाइएको छ।
ट्रम्प प्रशासन र हार्वर्डबीच शिक्षानीति, पाठ्यक्रम र अनुसन्धानको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। ट्रम्पले हार्वर्डले अमेरिकी विद्यार्थीहरूलाई विभेद गर्ने र विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिने आरोप लगाउँदै आएका छन्।
विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही शैक्षिक संस्थाले विदेशी विद्यार्थीहरूका आपराधिक गतिविधिबारे जानकारी दिन अस्वीकार गरेको उल्लेख छ। यसले राष्ट्रको सुरक्षामा जोखिम उत्पन्न गर्ने ट्रम्पको दाबी छ।
यो आदेश हालसालै भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा पनि लागू हुने स्पष्ट गरिएको छ। उनीहरूको भिसा रद्द हुने खतरा रहेको जनाइएको छ।
हालको आदेश विशेष रूपमा हार्वर्ड विश्वविद्यालयमा केन्द्रित भए पनि ट्रम्प प्रशासनले अन्य विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई पनि निशाना बनाउन सक्ने संकेत दिएको छ। विदेशमन्त्री मार्को रुबियोले चीनका विद्यार्थीहरूको भिसा रद्द गरिने बताइसकेका छन्।