काठमाडौं, जेठ २२ :

वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरबाट बाहिरिने क्रममा बिहीबार अपराह्न फोटो खिचेको भन्दै थापाले पत्रकार उमेश कार्कीको क्यामरामा हातले प्रहार गरे ।

थापाले बिनाअनुमति किन फोटो खिचेको भन्दै पत्रकारलाई हप्काउँदा वातावरण केही समय तनावग्रस्त बनेको थियो । जवाफमा पत्रकारले यो तपाईंको निजी घर होइन, सार्वजनिक स्थल हो, यहाँ फोटो खिच्न पाइन्छ भन्दै प्रतिवाद गरेका थिए । दुवै पक्षबीच केहीबेर वादविवाद चलेको थियो ।

थापा क्यामरा देख्नेबित्तिकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । मानौं उनको मुहार देख्दा माधव नेपाललाई हालेको मुद्दाले उनलाई नै बढी पीर परेको जस्तो देखिन्थ्यो ।

वरिष्ठ अधिवक्ता थापा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निम्तोमा परामर्श दिनका लागि पार्टी कार्यालय पुगेका थिए । आजै अख्तियारले अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आफूविरुद्ध मुद्दा दायर भएपछि उनले कानुनी परामर्शका लागि थापासहितका कानुन व्यवसायीहरूलाई बोलाएका थिए ।