
काठमाडौं, जेठ २३ :
सप्तकोसीमा बेपत्ता दुईमध्ये एक गोताखोरको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर टाढा फेला परेको छ ।
शुक्रबार बिहान खोजीका क्रममा सशस्त्रका जवान हरदेव राजवंशीको शव फेला परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
झापाका राजवंशी नम्बर १ श्रीअन्तु गण इलाममा दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए । बेपत्ता गोताखोरको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।
बिहीबार उद्धार अभ्यासका क्रममा सप्तकोसी नदीमा सशस्त्रका दुईजना जवान बेपत्ता भएका थिए । कार्कीको नेतृत्वको टोलीले अब डोटी घर भई नम्बर १३ गण पर्सा दरबन्दी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउदको खोजी गरिरहेको छ ।