काठमाडौं, जेठ २३ :

प्रधानमन्त्री केपी ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

काठमाडौंको महानगरपालिकाको २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीय बासिन्दाको प्रतिनिधि मण्डलले बालुवाटारमा शुक्रबार गरेको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैंचा, मुद्रा तथा भूकम्प संग्रहालय र देशकै सबैभन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकामा आभार व्यक्त गरियो ।

सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी संचय कोषले २०४४ सालमा दुईतले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रुपले चौबीसै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा क्षति भएपछि स्थानीयको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो । पछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सापासको प्रक्रिया पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो ।

अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभावी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोत-साधन अभाव भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौं महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।