काठमाडौं, जेठ २३ :

सशस्त्र प्रहरी नायब निरीक्षक नन्दराज जोशी (मानव प्रकृति) द्वारा लिखित ‘गतिशील भौतिकवाद’ पुस्तक विमोचन गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरी विमोचन गरेका हुन् । कार्यक्रममा वरिष्ठ वैज्ञानिक एवं नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेल र नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीलगायतले आफ्नो धारणा राखेका थिए । डा. ढुंगेलले पुस्तकको समीक्षा गरेका थिए ।

प्रमुखको अतिथिका रुपमा सम्बोधन गर्दै एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राम्रो पुस्तक ल्याएको भन्दै लेखक जोशीलाई बधाई ज्ञापन गरे । उनले पुस्तकमा नयाँ विचार प्रस्तुत गरिएको बताए । उनले भने, ‘नेपालको विचारको जगतमा नयाँ छलफल गर्ने अवसर पनि जुटाउनुभएको छ । त्यसको लागि पनि तपाईंलाई धन्यवाद छ ।’

पुस्तकभित्र प्रस्तुत भएका विचारमा सुरेश ढुंगेलले गरेको टिप्पणीप्रति आफ्नो पनि सहमति रहेको खनालको भनाइ छ । उनले दर्शन आफैंमा व्यापक ठुलो विषय भएको तर्क गरे । उनले नेपालमा दर्शनको विकासको चर्चा गर्दै सबभन्दा पहिले कपिल दर्शन उत्पत्ति भएको इतिहास सुनाए । त्यो इशाको सातौं शताब्दीको भएको खनालले बताए । कपिल दर्शनकै आधारमा आज कपिलवस्तु जन्मिएको र पछि बुद्ध दर्शन जन्मिएको खनालको भनाइ छ । बुद्ध दर्शनले उत्पति र विनाश भइरहेको कुरा ल्याएको खनालले बताए ।

उनले अब आउने युग समाजवादी आउनेछ भन्ने विज्ञान मार्क्सवादी चिन्तन भएको बताए । खोज तथा अनुसन्धानमा अन्तिम सत्य भन्ने नहुने उनको भनाइ छ । अन्तिम सत्यमा अडिन थालियो भने अर्को अनुसन्धान रोकिनेतर्फ खनालले सचेत गराए । नेपाली समाजलाई सुखी र समृद्ध बनाउनेतर्फ गहन छलफल गरिनुपर्नेमा उनको जोड थियो । त्यसको लागि कृषि, औद्योगिक, शिक्षा र स्वास्थ्य नीतिको सवालमा व्यापक बहस गर्न जरुरी रहेको उनले बताए । उनले सबैको चिन्तनले व्यवहारिकतालाई सहयोग पुर्याउनुपर्ने बताए । दुनियाँमा कतिपय विचारहरु पुस्तकालयभित्र थन्किएको पनि स्मरण गराए । तर, नेपालको हकमा भने देश र आम जनताको हितसँग गाँसेर लैजाने दर्शन, विचार र चिन्तन नै सजिव भएर बाँचिरहनसक्ने बताए । 

यस्तै खनालले पत्रकारले राखेको प्रश्नमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दा अब अदालतको विषय बनिसकेकोले धेरै टिकाटिप्पणी गर्नु उचित नहुने स्पष्ट पारे । उनले भने,‘गणतन्त्र र शासन प्रशासनलाई साँच्ची नै प्रशासनलाई पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउन गर्नुपर्ने धेरै कामहरू छन् । ती काम गर्न बाँकी छन् । ती कुराको सन्दर्भमा यी कुरालाई हेर्नुपर्छ भन्दै टिकाटिप्पणीलाई यत्तिमात्र भन्न चाहन्छु ।’

कार्यक्रममा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले पुस्तकका लेखक जोशीले बझाङजस्तो दुर्गम जिल्लामा बसेर सशस्त्र प्रहरी बलमा काम गरेर गहकिलो पुस्तक ल्याएकोमा बधाई ज्ञापन गरेका छन् । पुस्तकमा मानव शरीरदेखि विश्व ब्रह्माण्डको विकासबारे अध्ययन गरेर लेखेको जोशीको टिप्पणी छ ।

पुस्तकका लेखक जोशीले आफ्नो पुस्तकबारे प्रकाश पारेका थिए । उनले गतिशील पदार्थको रिलेटिभ तत्त्व नै आफूहरु भएको उनको भनाइ छ । उनले चेतना के हो ? चेतना कसरी निर्माण हुन्छ ? भन्ने कुरा पनि प्रकाश पारे । उनले आफूले ७ वर्षको अथक प्रयास गरेर मन खोजेको पनि स्मरण गराए । पुस्तकमा आफूले मानव भौतिकवादसमेत उल्लेख गरेको उनको भनाइ छ ।