
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरि पर्व मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलो पनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तिज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु”, उहाँको सन्देशमा भनिएको छ ।
हरितालिका तिज एक सनातन सांस्कृतिक पर्वका रुपमा नेपाली महिलाले मनाउँदै आउनुभएको भन्दै मुख्यमन्त्री पाण्डेले यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको उल्लेख गर्नुभएको छ ।
हरितालिका तिजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस् भन्ने मुख्यमन्त्रीले कामना गर्नुभएको छ ।