
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा एकै परिवारका चार जना नेपाली नागरिक घरभित्रै मृत अवस्थामा फेला परेका छन्।
घटना बिहीबार रातिको हो। मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ तथा उनीहरूका दुई सन्तान—२ वर्षीय छोरा र ८ वर्षीया छोरी रहेका छन्।
प्रहरीले चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारेको जनाएको छ। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ।
मनासस पार्क प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दै हत्या वा आत्महत्या दुवै सम्भावनालाई विचार गरिएको जनाएको छ। यद्यपि, कसले गोली चलायो भन्ने विषयमा प्रहरीले हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
मृतकहरूको शव मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ। यसअघि पनि भर्जिनियामा नेपाली समुदायसँग सम्बन्धित दुखद घटना भएको थियो। गत वर्ष नेपाली महिला ममता काफ्ले रहस्यमय रूपमा मृत फेला परेकी थिइन्।
उक्त घटनामा संलग्न भएको आशंकामा उनका श्रीमान् नरेश भट्टविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ भने उनीमाथि हाल पनि निरन्तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।