मोरङ, जेठ २४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै व्यक्तिविरुद्ध प्रतिशोध साँध्न प्रयोग गरिने संस्था नभएको स्पष्ट पारेका छन्।

मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण भएको २०० शय्याको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। 

प्रधानमन्त्री ओलीले कानुनी निकायहरूले आफ्नो प्रक्रिया स्वतन्त्र रूपमा अघि बढाउने र राजनीतिक हस्तक्षेप हुनु नहुने धारणा समेत व्यक्त गरेका छन्। उनले अख्तियारको निष्पक्षता र संवैधानिक भूमिकामा विश्वास व्यक्त गरिएको बुझिन्छ।  माधव नेपालले मुद्दा दायरपछि राजनीतिक प्रतिशोध स्वरूप आफूलाई लक्ष्य बनाइएको आरोप लगाएका थिए।

माधव नेपालको दाबी- एक पैसा खाएको छैन, अदालतले न्याय दिन्छ
 

यही सन्दर्भमा पत्रकारले सोधेको माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियार प्रयोग गरिएको हो? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो।’

हालै अख्तियारले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित अन्यलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यसअघि अख्तियारले पतञ्जली फाउन्डेशनको नाममा जग्गा खरिद गर्दा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा पूर्वप्रधानमन्त्री नेपालसहित अन्य पूर्वमन्त्री र सरकारी कर्मचारीहरू प्रतिवादी छन्।