काठमाडाैं, जेठ २५ :

संघीय संसदका चार वटा समितिको बैठक आज बस्दै छ। समितिहरूले आ–आफ्नो कार्यक्षेत्रका महत्वपूर्ण विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।

सबैभन्दा पहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ। बैठकमा अभिमुखीकरण, अन्तर्क्रिया र स्थलगत अनुगमन कार्यक्रमको तयारीबारे छलफल हुनेछ।

यस्तै मध्यान्ह १२:३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा कृषकहरूलाई समयमा र सहज रूपमा रासायनिक मलको व्यवस्था कसरी गर्न सकिन्छ भन्नेबारे छलफल हुनेछ।

साथै बैठकमा कृषि अनुदान उत्पादनमुखी बनाउन गरिएको प्रयास, उखु, अलैंची, अदुवा, कफी, चिया, सुपारी जस्ता कृषिजन्य उत्पादन र बजार व्यवस्थापनबारे पनि चर्चा हुने जनाइएको छ।

यस्तै दिउँसो २ बजे दुई वटा समिति बैठक बस्नेछन्। विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ को मस्यौदामाथि छलफल हुनेछ।

त्यसैसमयमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनबारे गरिएको अन्तर्क्रिया कार्यक्रमको समीक्षा गरिनेछ।

चार वटै समितिको आजको बैठकमा विभिन्न क्षेत्रका महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले यसले नीतिगत तहमा केही ठोस निष्कर्ष ल्याउने अपेक्षा गरिएको छ।