काठमाडौं, जेठ २५ :

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरू धेरै भएको बताएका छन् । उनले यसबाट सचेत भएर बजार विकासमा लाग्न पनि आग्रह गरे ।

बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा आइतबार उनले सेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाही दायरामा ल्याउन निर्देशन दिए ।

‘गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘संस्थालाई दबाब र प्रभावमा पार्ने धेरै छन् । त्यस्ताबाट जोगाएर नियमन बढाउनुपर्‍यो ।’

अर्थमन्त्री पौडेलले पुँजी बजारको विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए । बजारमा नयाँ उपकरण ल्याउनुपर्ने पनि अर्थमन्त्रीको सुझाव छ । सरकारले आगामी आवको बजेटबाट सेयर बजारको रिफर्मको अपेक्षा गरेको बताए । कार्यक्रममा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नियमन कमजोर भएको स्वीकार्दै क्षमता विस्तारको आवश्यकता रहेको जनाए ।