सप्तरी, जेठ २५ :

सप्तकोसी नदीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव भेटिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार साउदको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो।

उनी पूर्व अभ्यासका क्रममा जेठ २२ मा अर्का गोताखोर हरदेव सिंह राजवंशीसँगै बेपत्ता भएका थिए। हरदेव सिंहको शव घटना भएको भोलिपल्ट, २३ जेठमा नै भेटिएको थियो भने साउद त्यसयता बेपत्ता थिए।

कुरिनटारबाट खटिएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर टोलीले डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा खोजी कार्य जारी राखेको थियो। अन्ततः उनीहरूकै प्रयासमा साउदको शव फेला पारिएको हो। दुवै गोताखोर सशस्त्र प्रहरी बलका प्रशिक्षित सदस्य हुन्।