काठमाडौं, जेठ २५ :

सभामुख देवराज घिमिरेले संसद्‌मा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएपछि सभामुख घिमिरेले सिंहदरबारमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा घिमिरेले एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै त्यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

यही जेठ १५ गते संसद्‌को संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । आज प्रतिनिधिसभा बैठक १ बजेका लागि तय गरिएको छ ।