काठमाडौं, जेठ २५ :

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सफल लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सम्पन्न भएको छ । जनकपुर निवासी २५ वर्षीया एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको लिङ्ग तन्तुहरू प्रयोग गरी महिलाको जननेन्द्रिय पुनर्निर्माण गरिएको हो ।

जेठ १२ देखि १५ गतेसम्म प्लास्टिक सर्जरी विभागले ट्रान्सजेन्डर समुदायका लागि आयोजना गरेको विशेष सर्जरी कार्यक्रममा यो अपरेसन गरिएको अस्पतालले जानकारी दिएको छ। अनुहार तथा स्तनसम्बन्धी शल्यक्रिया पनि सोही क्रममा गरिएको थियो ।

शल्यक्रियामा विदेशी विशेषज्ञ डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभाग प्रमुख डा. जयनमान श्रेष्ठको संयोजनमा चिकित्सक तथा एनेस्थेसिया टिमको टोली संलग्न थियो ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँका अनुसार अब यस्ता सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने छन्। उनले भने, ‘महँगो खर्च र विदेश जानुपर्ने बाध्यताबाट पार पाउँदै ट्रान्सजेन्डर समुदायले आफ्ना लैंगिक पहिचान प्राप्त गर्न सहज हुनेछ।’ अस्पतालले अब जेन्डर अफर्मिङ क्लिनिक स्थापनासहित यस्ता सेवा नियमित रूपमा दिने योजना बनाएको छ।