काठमाडौं, जेठ २५ :

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ११.६ अंकले घटेको छ । योसँगै नेप्से २,६२९.८९ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४४९.२७ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१३ कम्पनीको सेयर कारोबार भए । जसमा ८६ हजार ६३६ पटकको कारोबारमा एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भए । योसँगै नेप्सेमा आइतबार कुल कारोबार रकम नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ पुग्यो ।


    
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा जलविद्युत् समूहको सूचक ४२.४२ अंकले बढेर ३,४९३.२६ अंकमा चढेकामा होटेल तथा पर्यटन समूहको सूचक पनि ८.४१ अंकले बढेर ६७४७.०७ अंकमा चढ्यो । यीबाहेक सबै समूहका सूचक राताम्मे रहे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले सेयर मूल्य गुमाए ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने राधी जलविद्युत् कम्पनीको सबैभन्दा बढी ७२ करोड ९५ लाख १४ हजार ६६० रुपैयाँको सेयर किनबेच भए । राधीको अन्तिम कारोबार मूल्य ८२३ रुपैयाँ कायम रह्यो ।