काठमाडौं, जेठ २५ :

वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीका लागि एक महिनासम्म निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। ब्रेन ट्युमर दिवसको अवसरमा असार २५  देखि साउन २३  सम्म दर्ता हुने बिरामीलाई यो सुविधा दिइने भएको हो।

अस्पतालको न्यूरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झाका अनुसार, वीर अस्पतालमा मासिक ३० भन्दा बढी शल्यक्रिया हुँदै आएको र निजीमा यो उपचारमा १ लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिए।

यसअघि साप्ताहिक ४ दिन ५ वटा शल्यक्रिया टेबलबाट सेवा दिइँदै आएकोमा हाल कोठा र स्रोतसाधन विस्तार गरी सेवा तीव्र बनाइएको हो। वीर अस्पतालमा स्थापना गरिएको नेशनल ब्रेन ट्युमर सेन्टर नेपालमै ब्रेन ट्युमर उपचारको केन्द्रको रूपमा विकास हुँदै गएको छ।

केन्द्रले अत्याधुनिक प्रविधि न्यूरोनेभिगेसन सिस्टम, थ्रीडी इन्डोस्कोप र इन्ट्रा–अपरेटिभ नर्भ मोनिटरिङको प्रयोग गर्दै आएको छ।

डाक्टरहरूका अनुसार टाउको दुखाइ, बारम्बार बान्ता, बेहोस हुने, आँखा नदेखिने, कान नसुन्ने, खाना ननिलिने, छारे रोगजस्ता लक्षण देखिएमा तत्काल अस्पतालमा परीक्षण गराउनुपर्छ। समयमै पत्ता लागेमा ब्रेन ट्युमर पूर्ण रूपमा निको हुन सक्ने चिकित्सकहरूको भनाइ छ।