प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ ।
आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेस गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । सत्तापक्ष र विपक्षीबीच संसद खुलाउने बिषयमा छलफल भएपनि गृहमन्त्रीले राजिनामा दिनुपर्ने र छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने विपक्षीको अडान कायम नै रहेको छ ।