मुम्बई, जेठ २६ :

मुम्बईको ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल (स्थानीय) ट्रेनबाट  १० यात्रु खसेका छन् । रेलबाट खसेका यात्रुमध्ये एकजनाको मृत्यु भएको छ भने थप ९ जना घाइते भएका छन् ।

ठाणे महानगरपालिकाले पनि घटनाबारे पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । रेल दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको थियो । जसमा कसाराबाट सीएसएमटी जाँदै गरेको रेलबाट एक यात्रु खसे ।

मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाले दुर्घटनाबारे जानकारी दिँदै सञ्चारमाध्यमहरुसँग प्रतिक्रिया दिएका छन्, ‘एक दुर्घटनामा, ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका आठजना रेलबाट खसे । यो जानकारी कसरातर्फ जाँदै गरेको लोकल ट्रेनको गार्डले दिएका हुन् । सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’

सीपीआरओ स्वप्निलका अनुसार यो दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनहरूबीचको डाउन/फास्ट लाइनमा भएको हो ।

उनले भने, ‘एउटा रेल कसरातर्फ र अर्को सीएसएमटीतर्फ गइरहेको खबर आएको थियो । दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेलहरू गुड्ने क्रममा आपसमा ठोक्किए । जसका कारण केही मानिस जमिनमा खसे ।’

सीपीआरओले यो दुई रेलबीच आपसमा नठोक्किएको बरु विपरीत दिशामा जाने दुई रेलका फुटबोर्डमा यात्रा गर्ने यात्रु आपसमा अल्झिएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘सामान्यत: दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ । यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ ।’ -बीबीसी हिन्दी