काठमाडौं, जेठ २७ :

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी  कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आयोजित कार्यक्रममा नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरियो । त्यस अवसरमा अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।

उनले अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने आश्वासन पनि दिए ।