
काठमाडौं, जेठ २७ :
वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका १० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका १२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरे पनि आज (मंगलबार) सार्वजनिक गरिएको हो ।
कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । साथै उनीहरुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । रोजगारीका लागि बेलायत (यूके) पठाइदिन्छौं भन्दै उनीहरुले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।