जाजरकोट, जेठ २७ :

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै बालबालिकाको मृत्यु भएको छ। जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैका १६ वर्षीया भगवती नेपाली, १२ वर्षीया आशा कुसारी र १० वर्षीय महेश कुसारीको मृत्यु भएको हो ।

उनीहरू शुक्रबार दिउँसो स्कुलबाट घर फर्किएपछि नुहाउन भेरी नदी पुगेका थिए। पहिले महेश बगेपछि उनलाई बचाउन भगवती र आशा पनि नदीमा हाम्फालेका थिए। तर, अन्ततः तीनै जना बगेका थिए ।

घटनापछि रुकुम पश्चिमको आठबिसकोटबाट खटिएको प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरेर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन बेलुका करिब ४ बजे महेशको शव करिब ९ सय मिटर तल फेला परेको थियो ।

तीन दिनसम्म बेपत्ता रहेकी आशाको शव भने सोमबार साँझ करिब ६ बजे नलगाड–७, चापाखोला नजिक फेला परेको प्रहरीले जनाएको छ ।