
अष्ट्रियाको ग्राज सहरस्थित एक उच्च माध्यमिक विद्यालयमा एकजना बन्दुकधारीले गोली चलाउँदा किशोर–किशोरीहरू सहित १० जनाको ज्यान गएको छ।
यो घटना देशकै इतिहासमा भएका सबैभन्दा भयावह गोलीकाण्डहरूमध्ये एक हो।
अष्ट्रियन प्रहरी र अस्पताल अधिकारीहरूले घटनामा मृत्यु हुनेको संख्या १० पुगेको पुष्टि गरेका छन्। मृतकहरु १४ देखि १८ वर्ष उमेरका बालबालिका रहेको जनाईएको छ।
मृतकमध्ये छ जना महिला र तीन जना पुरुष रहेको त्यहाको गृह मन्त्री गेर्हार्ड कर्नरले पत्रकार सम्मेलनमा बताएका छन् । घटनामा १२ जना विद्यार्थी घाइते भएका छन् जसमध्ये केही गम्भीर अवस्थामा छन्।
आक्रमणकारी २१ वर्षीय अष्ट्रियन पुरुष हुन् जो सो विद्यालयका पूर्व विद्यार्थी हुन् । उनले एक शटगन र एक पिस्तोल गरी दुई वटा हतियार प्रयोग गरेर यो हिंसात्मक घटना घटाएका हुन् । त्यसपछि विद्यालयको बाथरूममा आफैँमाथि गोली चलाएर आत्महत्या गरेका छन्।
ती हतियारहरू घटनास्थलबाट बरामद गरिएर हाल फरेन्सिक परीक्षण भइरहेको छ। प्रहरीले अनुसन्धानका क्रममा घटना सम्बन्धी थप विवरण संकलन गरिरहेको बताएको छ।
यो घटनाले सम्पूर्ण अष्ट्रियालाई स्तब्ध र शोकमा डुबाएको छ।
अष्ट्रियन चान्सलर क्रिस्टियन स्टोकरले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्,“दुःख र पीडाका लागि कुनै शब्द छैन।”
आस्ट्रियामा हजारौं मानिसहरूले मृत्यु भएका विद्यालयको सम्झनामा दीप प्रज्वलन गरिरहेका छन्।