काठमाडौं, जेठ २८ :

सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीमा सिर्जनात्मक र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता आरम्भ गरेको छ ।

यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि मात्र खुला गरिएको आयोजकले जानकारी दिएको छ । विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट तयार गरी जेठको अन्तिम साताभित्र बुझाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ ।

लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार यो प्रतियोगिता केवल वेबसाइट बनाउने अभ्यास मात्र नभई जीवन बनाउने प्लेटफर्म हो । ‘हामी यो कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको पाना मात्र होइन, व्यवहारको प्लेटफर्ममा लैजान चाहन्छौँ,’ उनले भने, ‘सूचना प्रविधि सिक्न एउटा सीप हो, तर त्यसलाई प्रयोग गरेर सोच बदल्नु दृष्टिकोण हो । हामी त्यो दृष्टिकोण दिन चाहन्छौं ।’

प्रतियोगितामा पठाइएका वेबसाइटमध्येबाट उत्कृष्ट २० विद्यार्थी छनोट गरिनेछन् । जसबाट अन्ततः एक जनालाई मुख्य विजेता घोषणा गरिनेछ । विजेतालाई ल्यापटप प्रदान गरिनेछ भने अन्य उत्कृष्ट स्थान प्राप्त गर्नेलाई पेन्ड्राइभ तथा अन्य सूचना प्रविधिसम्बन्धी सामग्रीहरू पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

यस्तो प्रतियोगिता २०७४ सालदेखि सञ्चालन हुँदै आएको हो । गत वर्षको सिजन-६ मा देशभरका विभिन्न जिल्लाबाट १,१०२ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा हिमालयन एकेडेमी सामाखुसीका विद्यार्थी योगेश स्माली मुख्य विजेता भएका थिए ।

प्रतियोगितामा सहभागी हुन विद्यार्थीले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरी वा अनलाइन माध्यमबाट आवश्यक जानकारी लिएर सहभागिता जनाउन सक्नेछन् । एसईई दिएर भविष्यको बाटो खोजिरहेका विद्यार्थीका लागि यो प्रतियोगिता एउटा अवसर मात्र नभई नयाँ सम्भावनाको ढोका हो ।

संगठनका अनुसार प्रतियोगिताको अन्तिम मूल्यांकनपछि विजेताको घोषणा असारको दोस्रो साता भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।