मुस्ताङ, जेठ २८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको बताएका छन् ।

उनले आगामी दिनमा सरकारी तर्फबाट प्राविधिक सहयोग तथा आवश्यक पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता पनि जनाए । मुस्ताङ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको बुधबार अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

अवलोकनका क्रममा दाहालले केन्द्रमा भइरहेका बागवानीसम्बन्धी गतिविधिहरु, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान सम्बन्धी कार्यहरूबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । उनले जलवायुअनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रको भूमिका उल्लेखनीय रहेको धारणा पनि राखे ।

शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेकका लागि उपयुक्त बागवानी प्रविधिहरू विकास गर्दै आएको छ । जसले कृषकलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख गराउन मद्दत पुर्‍याइरहेको छ ।