काठमाडौं, जेठ २८ :

नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंद्वारा समाचार हटाउन जारी गरिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त आदेश तत्काल सच्याउन आग्रह गरेको छ।

मंगलबार अदालतले नेपाल खबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउनका लागि अल्पकालीन आदेश जारी गरेको थियो। महासंघले  आदेशलाई संविधानको मर्म र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सिद्धान्त विपरीत भएको बताएको छ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै आदेश पुनर्विचार गरी सच्याउन आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य कार्यक्रम गर्न बाध्य हुनेछ।’

महासंघले समाचारमाथिको यस्तो हस्तक्षेपले प्रेस स्वतन्त्रताको मर्यादा प्रभावित हुने भन्दै अदालतलाई आफ्नो आदेश फिर्ता लिन पुनः आग्रह गरेको छ।