
संवैधानिक आयोगमा गरिएको नियुक्तिबारेको मुद्दामा अब असार १८ गते फैसला सुनाइने भएको छ।
बुधबारका लागि तोकिएको पेसीमा फैसला हुन नसकेपछि सर्वोच्च अदालतले अर्को मिति असार १८ गते तोकेको हो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको इजलासले दिनभर छलफल गरे पनि निर्णय दिन सकेन।
उक्त संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। चार वर्षअघि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको नेतृत्वमा दुई चरणमा ५२ जनालाई अख्तियार र अन्य संवैधानिक आयोगहरूमा नियुक्त गरिएको थियो।
यी नियुक्तिहरू संविधानअनुसार नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्याललगायतले २०७७ साल पुस १ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमाथि सर्वोच्चमा बहस तथा छलफल हुँदै आएको छ।