काठमाडौं, जेठ २८ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्य प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं,’ उनले भने । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मिहिनेतका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए ।

उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्वतयारीका काममा लाग्न पनि निर्देशन दिए ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मिहिनेत लगाएर राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।