
हेटौंडा सिमेन्ट उद्योगका पुराना सामान ठेकेदार पक्षबाटै चोरी भएको रहस्य खुलेको छ ।
हेटौंडा सिमेन्ट उद्योगले आफ्नो पुरानो रोप–वे संरचना कबाडका रूपमा बाराको लिपनीमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई ४ करोड २५ लाख रुपैयाँमा ठेक्कामा दिएको थियो। तर ठेकेदार पक्षले सम्झौताविपरीत अन्य महत्त्वपूर्ण सामग्रीसमेत चोरी गरेको खुलासा भएको छ।
मजदुर संगठनका अनुसार झन्डै १५ करोड बराबरको सामग्री ४ करोडमै बिक्री गरिएको छ। साथै, भैंसे खानीस्थित चमेना गृह नजिकको डम्फर, ट्रान्सफर्मर तथा सम्झौतामा उल्लेख नभएका फलामका संरचनासमेत ठेकेदारले चोरेको आरोप लगाइएको छ। ६३० केभीएको ट्रान्सफर्मर चोरी भएको र विरोधपछि मात्र फिर्ता ल्याइएको उद्योगले जनाएको छ। अन्य स्थानबाट पनि सामग्री हराएको आशंका छ।
उद्योगले चोरीको घटनाबारे माघ २५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धानका लागि निवेदन दिएको थियो। तर कुनै छानबिन नहुँदा उद्योग प्रशासन र मजदुर संगठनले प्रहरीमाथि बेवास्ताको आरोप लगाएका छन्।
सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पटक–पटक अनुरोध गर्दा पनि प्रहरीले अनुसन्धान अघि नबढाएको बताएका छन्। यसबारे मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले उद्योगले किटानी जाहेरी नदिएको र ताकेता नगरेको कारण अनुसन्धान अघि नबढेको स्पष्ट पारेका छन्।