
काठमाडौं, जेठ २९ :
प्रतिनिधिसभाको अवरोध हटाउन दुई बुँदे सहमतिको प्रयास भइरहेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि तयार गरिएको मस्यौदामा टेकेर सहमति बनाउन पहल भइरहेकै हो।
सहमतिको पहिलो बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन सकिनेसम्म सरकार र संसद्को पूर्ण सहयोग रहने उल्लेख छ।
दोस्रो बुँदामा २०६४ सालपछि भिजिट भिसामा विदेश जाने क्रममा भएको सम्भावित आर्थिक लेनदेनबारे अध्ययन गर्न संयन्त्र बनाइने प्रस्ताव गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यो मस्यौदामा सहमत छैन। उसले छुट्टै ५ बुँदे प्रस्ताव अघि सारेको छ। सत्ता पक्षले भने दुई बुँदामै सहमति खोज्ने प्रयास गरिरहेको छ।
विपक्षी दलको अवरोधका कारण यही जेठ १३ गतेदेखि सदन चल्न सकेको छैन । जसका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ ।