
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सुसूचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक सञ्जाल विचार अभिव्यक्त, सार्वजनिक बहस, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धन र मनोरञ्जनका लागि समेत महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्नुभएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने र विचार बन्धक बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सधै संवैधानिक अधिकारलाई सुनिश्चित गर्न लागिपर्ने स्पष्ट पार्नुभयो ।
लामो समयदेखि नेपाल सरकारको सम्पर्कमा रहेको टिकटकको सञ्चालक कम्पनीले नेपाली समाजको मर्यादा तथा सुरक्षा चासोलाई सम्बोधन गर्ने र सोहीअनुसार टिकटकलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सरकारले टिकटक खुला गर्ने निर्णय गरेको जनाइएको छ ।
यसैगरी मन्त्रालयले टिकटकका सञ्चालकले देशव्यापी साइबर सुरक्षामा प्रतिबद्धता जनाउनुका साथै नेपालको पर्यटन, डिजिटल साक्षरता, युवालाई रोजगारी प्रवर्द्धन गर्ने तथा नेपाली राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु ‘फिल्टरिङ’ र ‘मोडरेसन’लाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको प्रेस नोटमा उल्लेख छ ।