
भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै २४२ यात्रुको मृत्यु भएको छ।
विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली नागरिकसहित जम्मा २३० जना यात्रु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए।
एयर इन्डियाको उडान नम्बर AI-171 को विमान दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डन जाँदै थियो। त्यसको दुई मिनेटपछि, १:४० बजे, एयरपोर्टको दीवार नजिकै र एयर कस्टम कार्गो अफिसको छेउमा ठोक्किँदै दुर्घटनाग्रस्त भएको हो।
विमान जस भवनमा ठोक्किएको थियो, त्यहाँ अहमदाबाद सिविल अस्पतालका चिकित्सकहरू बसोबास गर्दै आएका थिए। दुर्घटनाको समयमा सो भवनमा ५० देखि ६० जना चिकित्सक उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएको जनाइएको छ।
दुर्घटनास्थलबाट फेला परेका अधिकांश शवहरू अत्यन्तै जलेका कारण उनीहरूको पहिचान गर्न गाह्रो भइरहेको बताइएको छ। मृतकहरूको पहिचान डीएनए परीक्षणपछि मात्र गर्न सकिनेछ। एयर इन्डियाले यात्रुका आफन्तलाई जानकारी दिनका लागि हटलाइन नम्बर जारी गरेको जनाएको छ।