काठमाडौं, जेठ २९ :

प्रधानमन्त्री केपी ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन् ।

बालश्रमविरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसीपीए) द्वारा आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । ‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरु सँधै मुस्कुराइहुन् भन्ने चाहान्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न र शासकहरुलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु,’ उनले भने, ‘हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनु हुँदैन । उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौं । सिंगो मुलुकको आर्थिक-सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरु जारी रहनेछन् ।’

उनले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरुको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने स्पष्ट गरे । ‘मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ । सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौं,’ उनको भनाइ थियो, ‘बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ ।’

कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा चिठी बुझाइएको थियो । कार्यक्रममा एनसीपीएका पूर्वअध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताइन् । राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी-नेपाल) का सहअध्यक्ष नरेन्द्र डंगोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिए ।