
एयर इन्डियाको विमान दुर्घटनाबाट संयोगले एक युवतीले ज्यान जोगाउन सफल भएकी छन् । उनी लन्डन जाने तयारीमा थिइन् । तर १० मिनेट ढिला विमानस्थल पुगेपछि उनको फ्लाइट छुटेको थियो ।
रिपब्लिक टीभीको रिपोर्ट अनुसार भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन् ।
‘मेरो शरीर अझै काँपिरहेको छ । मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ उनले भनिन् । उनका अनुसार दिउँसो करिब डेढ बजे सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन् ।
एयर इन्डियाको विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु, एकजनाको जीवितै उद्धार
एयर इन्डियाको विमान १:३८ बजे उडेको थियो र त्यसपछि केही मिनेटमै विमानस्थल नजिकैको बस्ती क्षेत्रमा दुर्घटना भएको थियो । चौहान एयर इन्डियाको सोही फ्लाइटमा एक्लै लण्डन फर्किन लागेकी थिइन् । उनी दुई वर्षपछि बिदामा भारत आएकी थिइन् । लन्डनमा उनी आफ्नो श्रीमानका साथ बस्छिन् । आफू भाग्यले बाँचेकामा उनले ईश्वरलाई धन्यवाद दिएकी थिइन् ।
