काठमाडौं, जेठ ३० :

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमहरू सहित र लगानी प्रवद्र्धनलाई जोड दिइने उल्लेख छ ।

समझदारीपत्रमा बीटूबी सहकार्यलाई प्राथमिकता तथा दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य र लगानीका अवसरबारे आ-आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको महासंघका अध्यक्ष ढकालले बताए ।

यस्तै सम्झौताअनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संसाधन, व्यावसायिक सुरक्षा, सीप विकास, र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने उनले जानकारी दिए ।

यस्तै क्याम्फेबाका उपाध्यक्ष सोक लोरले महासंघ र क्याम्फेबाले महासंघ र क्याम्फेबाका बीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना, बलियो सञ्जाल, र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने भएको छ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागु भई ९० दिनको सूचनामा रद्द गर्न सकिनेछ प्रावधान छ । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाई समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

समझदारीपत्र हस्ताक्षर समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ , कार्यकारी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो । यो सम्झौता दुई देशका व्यापारिक समुदायबीच सहकार्य र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।